
काठमाडौं, माघ ९। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ।
सोमबार रातिदेखि पश्चिम नेपालदेखि काठमाडौंलगायत देशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षा बिहीबारसम्म जारी रहने सम्भावना छ । मंगलबारपछि एक सातासम्म पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताए ।
यस वर्षको जाडोमा विगत ३० वर्षयताकै कम वर्षा भएको छ । सन् १९९१ यता यस वर्ष हिउँदे वर्षा सबैभन्दा कम भएको छ। सन् १९९१ देखि २०२० सम्म डिसेम्बर १ देखि जनवरी १८ सम्म औसत १२.६ मिलिमिटर वर्षा भएको छ । तर यस वर्षको सोही अवधिमा ०.१ मिलिमिटर मात्रै वर्षा भएको विभागले जनाएको छ । अघिल्लो वर्ष हिउँदमा औसत २७.१ मिलिमिटर वर्षा भएको थियो।
नेपालमा डिसेम्बर १५ देखि फेब्रुअरी १५ सम्मलाई हिउँदको मौसम मानिने जलवायु विज्ञ धर्मराज उप्रेतीले जाडोमा कम वर्षा हुनु भनेको जाडो बालीमा प्रत्यक्ष असर हुनुका साथै खडेरी बढ्ने बताउनुभयो । पानीका मुहानहरू सुक्नु वा घट्नु, वायु प्रदूषण बढ्नु र आगलागीका घटनाहरूको बढ्दो जोखिम पनि सम्भावित प्रभावहरू हुन्।