Kath Khabar
महाशिवरात्रिका लागि सजाउन थालियो पशुपतिनाथ मन्दिर
फाइल तस्विर

 

                   काठमाडौं, माघ २९ ।  नजिकिदै गरेको महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रका विभिन्न स्थान सजाउन थालिएको छ।

मन्दिर क्षेत्रमा अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाउन थालिएको छ । पशुपति क्षेत्रका भित्तामा रङरोगन लगाउने तथा भत्किएका सिढी मर्मत गर्ने कार्य सुरु भएको छ।  मारवाडी समितिको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम भइरहेको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्यस्थललाई रङरोगन गर्न थालिएको तथा बत्तीले सजाउने काम सुरु गरिएको छ । यसैगरी पशुपति क्षेत्रका भित्तामा रङरोगन लगाउने तथा भत्किएका सिडी मर्मत गर्ने कार्य सुरु भएको सदस्य सचिव डा थापाले बताउनुभयो ।

यसवर्ष पशुपतिनाथमा १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान समितिले गरेको छ । पशुपतिनाथ क्षेत्रमा झकिझकाउ गरिन थालिए पनि शौचालयको अभावमा समस्या हुने स्वयं पशुपति क्षेत्र विकास कोषका कर्मचारी बताउँछन् । पशुपतिनाथ क्षेत्रमा फूलले सजावट गर्ने कार्यका लागि कम्तीमा पनि रू २० लाख खर्च आउने अनुमान गरिएको छ ।

यसैगरी यसवर्ष भगवान् पशुपतिनाथमा जगद्गुरु शङ्कराचार्य आउने भएपछि पशुपति क्षेत्रलाई झनै सुन्दर तथा झकिझकाउन गर्न थालिएको कोषका सदस्य सचिव डा मिलन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जगद्गुरु शङ्कराचार्य आउँदो फागुन ४ गते पशुपतिनाथमा आउने तथा यहाँ प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ ।

महाशिवरात्री आउन अझै समय भए पनि अहिले नै पशुपतिमा भक्तजनको निकै चहलपहल बढ्दै गएको छ । हङ्स मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भिड बढेको छ । पशुपतिनाथमा छिमेकी मुलुक भारतबाट साधुहरु आउने क्रम बढेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update