Kath Khabar
डुकुछापको विकास निर्माणमा वडाअध्यक्षको सक्रियताप्रति म नाजवाफ
वडाअध्यक्ष शुक बहादुर लामा


                   ललितपुर फागुन २ । करिब ११ः३५ को समय भएको छ । गोदावरी नगरपालिका वडा नं ८, डुकुछापका वडाअध्यक्ष शुक बहादुर लामा ललितपुर महानगरपालिकाको फर्सिडोल दोभानले छोएको डुकुछाप प्रवेश गर्ने मूलबाटोमा रोलर अपरेटर र ग्रेडर अपरेटरलाई बाटोको लम्बाइ र फिनिसिङ गर्ने तरिकाबारे बुझाउदै गर्नु भएको अवस्थामा भेट भयो । आफू पनि त्यहीको स्थानीय भएको कारणले मनमा थोरै जिज्ञासा राख्न मन लाग्यो । मैले दाई कतैबाट बजेट आएर यो काम थाल्नुभएको हो कि ! भनी प्रश्न गर्दा उहाँले सोझै 'म मेरो डुकुछाप बनाउन कुनै सरकारी निकायको बजेटको आशा गरी बस्ने वडाअध्यक्ष हैन' भन्नुभयो ।

'ललितपुर महानगरपालिकाको सीमानासँग जोडिएको फर्सिडोल खोल्चादेखि खोलाखेतसम्म करिब ६ कि.मि बाटो ग्रेडर लगाएर खानीको डष्ट बिच्छाई पानी हालेर रोलरले पेलेर बाटोको स्तरोन्नति गर्छु भनी आफैं लागेर यो काम गर्दैछु । मलाई विश्वास छ यो कामले मेरो वडाका वडाबासीहरु पैदलयात्री लगायत कर्मचारी, विद्यालय र कलेजका विद्यार्थीहरू सबैलाई समयमा गन्तव्यमा पुग्न सहज हुनेछ । यसको लागि मैले कतैबाट पनि कुनै बजेट पाएको छैन म यो बाटोको लागि मेरो व्यक्तिगत पचासौं लाख खर्च गर्न पनि तयार छु' उहाँले बताउनु भयो ।

मैले यत्ति उत्तर पाएपछि बाटो मात्र बनाउने कि अरु पनि योजनाहरू केही छन् भनेर पुनः प्रश्न गर्दा उहाँले सडकमै उभिएर फटाफट उत्तर दिन थाल्नुभयो । 'मेरो प्राथमिकता बाटो मात्र हैन खासगरी डुकुछापका कृषकहरूले उत्पादन गरेको कृषिजन्य वस्तुहरू लगनखेलसम्म बिक्रीका लागि ढुवानी हुने छोटो बाटो भएको र रातो मच्छिन्द्रनाथसँग सांस्कृतिक, धार्मिक कुराहरू पनि जोडिएको हुनाले बाटोलाई अलि बढी जोड दिएको छु । अन्य अरु कुराहरुमा मेरो पहिलेको कार्यकालमा नै मैले खानेपानी, विद्युत्, स्वास्थ्य चौकी, सडक, खेलकुद मैदान आदि सबै पूर्वाधारहरूको डि.पि.आर तयार गरी अहिले प्रस्ताव सहित सम्बन्धित मन्त्रालयमा पेश गर्ने कार्यको सुरुवात गरेको छु । मलाई आशा छ मेरो यो दोश्रो कार्यकालमा डुकुछापले विकासको मुहार फेर्नेछ ।'

उहाँको यत्ति कुरा सुनेपछि मलाई अरु प्रश्न गरिरहन पर्ने जस्तो महसुस भएन र म पनि उहाँले वडाको विकासको लागि गर्नु भएको वर्षौदेखिको अति जोखिम क्षेत्र डुकुछापको विकासको बाधक कसेरी भिर कटान गरी खतरामुक्त बनाउनु भएको, आफ्नै खर्चमा विद्यालयमा शिक्षक व्यवस्था गर्नुभएको, डुकुछापमा जग्गा एकीकरण आयोजना र औद्योगिक ग्रामको स्थापनाको लागि पहल गर्नुभएको, रातदिन नभनी बाटो, विद्यालय, खानेपानी ट्याङ्की, डिप बोरिङ निर्माणमा आफैं बसी गुणस्तरीय कार्य गर्दै आउनु भएकोले हामी उपभोक्ताहरु उहाँको समग्र डुकुछाप विकासमा भएको सक्रियता प्रति नाजवाफ भएका छौं । उहाँलाई यस स्थानको उल्लेखनीय योगदानको लागि धन्यवाद भन्दै म आफ्नो बाटो लागें ।

✍️ स्थानीय, डुकुछाप

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update