Kath Khabar
कांग्रेस नेता भण्डारीको भारतमा उपचार जारी, शुक्रबार दुईवटा शल्यक्रिया गरिने

 

                   काठमाडौं, फागुन ५ । बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

उक्त अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने मुम्बईमा रहनुभएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनुभयो ।

नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन् । आज पहिलो र दिउँसो दोस्रो शल्यक्रिया गर्ने तयारी गरिएको नेता कँडेलले जानकारी दिनुभयो । भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो ।

नेता भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो ।

विद्युत स्वीच अन गर्दा विष्फोट भएको प्रारम्भिक अनुसन्धान
काठमाडौंको बुद्धनगरस्थित निवासको भुईतल्लामा रहेको भान्सामा सांसद भण्डारीको भान्सा थियो । बुधबार भण्डारी एउटा वैवाहिक कार्यक्रममा गएर राति घर फर्किएका थिए । त्यतिबेला आमा हरिकलाले ग्यास गन्हाएको कुरा छोरालाई गरेकी थिइन् । सांसद भण्डारी भान्सामा जाँदा कोठा अध्यारो थियो र चारैतिर झ्यालढोका बन्द थियो । बत्ति बाल्न स्वीच अन गर्दा आगोको झिल्का निस्किने गर्दछ, जसलाई स्पार्क भनिन्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले त्यही स्पार्क मार्फत आगलागी भएको हुनसक्ने बताईएको छ ।

हरिकलाको उपचारका क्रममा बिहीबार निधन भएको थियो । नेता भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update