
काठमाडौं, फागुन ६ । आज महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् ।
बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआराधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ । दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ । नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेकोे छ ।