Kath Khabar
महाशिवरात्रिमा पशुपति आएका साधुसन्तलाई आज दक्षिणा सहित बिदाइ गरिने


               काठमाडौं, फागुन ८ । महाशिवरात्रिका लागि पशुपति आएका साधुसन्तहरुलाई आज पशुपति प्राङ्गणबाट बिदाइ गरिदैंछ । करिब ४ हजारभन्दा धेरै साधु सन्तको बिदाइ गरिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताएका छन् ।

शिवरात्रिका लागि पशुपति आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

साधुसन्तको दक्षिणाका  लागि ८ देखि १०  लाख रुपैयाँ छुट्टाइएको पनि कोषले जनाएको छ । पोहोर र परारको तुलनामा यसपालि पशुपतिमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ। यस्तै, महाशिवरात्रिका अवसरमा पशुपतिमा सङ्कलन भएको भेटीको गणना सुरु भएको छ ।

हिजोदेखि भेटी गन्न थालिएको र गणना सक्न अझै ५-६ दिन लाग्ने कोषले जनाएको छ । यसपालि १५ लाख रुपैयाँ भेटी सङ्कलन भएको हुन सक्ने अनुमान गरिएको छ । अस्ति शनिवार परेको महाशिवरात्रिमा १५ लाखभन्दा धेरै भक्तजन पशुपति मन्दिर पुगेका र सात लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update