ताप्लेजुङ, फागुन ११ । पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ । ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा सामान्य हिउ परेको हो ।
यो वर्ष पहिलो पटक यस क्षेत्रमा सामान्य हिउँ झर्न शुरु भएको हो । जिल्लाका उत्तरी उच्च भेगमा भने वर्षा भएको छैन । विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङ्गोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभएको स्थानीयवासीले बताएका छन् ।
सदरमुकाम फुङलिङसहित केही ठाउँमा आज परेको वर्षाले किसानलाई सामान्य राहत मिलेको छ । यो वर्ष हिउँद लागेयता वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन सकेको छैन । गहुँ, मकै, तोरीलगायत बालीनाली लगाउने समयमा वर्षा नहुँदा किसान चिन्तामा परेका छन् । वर्षासँगै सदरमुकाम लगायत क्षेत्रमा चिसो बढेको छ ।