
काठमाडौं, फागुन १५ । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह 'पल' थुनामुक्त भएका छन् ।
बाल यौन दुरुपयोगको आरोपमा एक वर्षअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका पललाई उच्च अदालत पोखराले दाबी नपुगेको भन्दै सफाइ दिएपछि आज उनी रिहा भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा २०७८ फागुन ११ गते एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । बलात्कारको आरोप लागेपछि आजकै दिन फागुन १५ गते शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । उनी आज फागुन १५ गते नै रिहा भएका छन् ।
शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका छन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।