Kath Khabar
हिउँदयाम सकिएसँगै नेपालमा प्रि-मनसुन सुरु

 

                 काठमाडौं, फागुन १७ । नेपालमा प्रि-मनसुन सुरु भएको छ जनाएको छ । हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।

मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि-मनसुन तीन महिनासम्म रहनेछ । प्रि-मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उहाँले बताउनुभयो । प्रि-मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् । यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ ।

स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो। उहाँका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौँ, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो । यस वर्षको हिउँदमा उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update