Kath khabar
दाङमा श्रेष्ठ दम्पतीले गरे उदाहरणिय काम, आफ्नै बुहारीको गरिदिए कन्यादान

                  

                        तुलसीपुर, फागुन २६ । दाङमा सासूससुराले आफ्नै बुहारीको विवाह गरिदिएका छन्।दाङको तुलसीपुर उपमहानगरपालिका-६ शिखरकोलोनी निवासी श्रेष्ठ दम्पतीले आफ्नो बुहारीको कन्यादान गरिदिएका छन् ।

बिहीबार शिव श्रेष्ठ र बिना श्रेष्ठले आफ्नो एकल बुहारी आरती श्रेष्ठको बर्दघाट नगरपालिका-५ पालडाँडा निवासी उत्तम ध्वज केसी र जुना केसीका सुपुत्र चन्दन ध्वज केसीसँग कन्यादान गरि दिएका हुन् ।

श्रेष्ठ दम्पतीका छोरा सुविन श्रेष्ठको २०७४ साल कात्तिक ५ गते ३३ वर्षको उमेरमा (क्यान्सर) उपचारको क्रममा निधन भएको थियो । छोराको मृत्युपछि एकल बुहारी आरतीलाई छोरीको रुपमा स्वीकार गरेका थिए । ३० वर्षीय आरती सासुससुरासँग तुलसीपुरमा बस्दै आएकी थिइन् । श्रेष्ठ दम्पतीले आरतीलाई छोरीको रुपमा स्वीकार गरिसकेपछि उनलाई ‘स्टाफ नर्स’ समेत पढाएका थिए ।

छोराको मृत्यु पश्चात एकल भएकी बुहारीलाई छोरीको रुपमा हाम्रो समाजले विरलैमात्रामा स्वीकार्ने गर्दछन् । तर श्रेष्ठ दम्पतीले आरतीलाई छोरी स्वीकार गरी बुहारीको कन्यादान (विवाह) गरेर उदाहरणीय कार्य गरेका छन् । हाम्रो समाजमा एकल भएका बुहारीलाई हेर्ने दृष्टिकोणलाई परिर्वतन गर्दै श्रेष्ठ दम्पतीले बुहारीको विवाह गराइदिएका छन् । आरतीका ससुरा शिव श्रेष्ठले छोरी आरतीको उज्जवल भविष्यको कामना गर्दै कन्यादान गरि दिएको जानकारी दिए ।

आफ्नो सन्तानको रुपमा एउटै छोरा थियो, त्यो पनि सानै उमेरमा भगवानको प्यारो भयो तर छोरा स्वर्गवास भएपनि सन्तान भनेको हाम्रो बुहारी थियो । बुहारीलाई पनि आफ्नै सन्तान मान्यौ । छोरी आरतीको भविष्यलाई मध्यनजर गरेर हामीले विवाह गरिदियौ । छोरीको विवाह गर्न पाउँदा हामी दुई श्रीमान श्रीमति धेरै खुशी छौं । छोरी आरतीको भविष्य सुन्दर होस् हामी यही चाहान्छौं’– श्रेष्ठले भने ।

छोराछोरी नभई विधवा भएपछि अलपत्र परेका धेरैका छोरीहरु भएको बताउदै उनले घर माइतीले उनका समस्याहरु नबुझेर जिन्दगी भर दुःख पाएका उदाहरणहरु धेरै छन् तर हामीले बुहारी पनि छोरी सरह हुन, हामीले छोरीको भविष्यका लागि घर पक्ष र माइती पक्षको सबैको सल्लाहले विवाह गरिदिएको बताए ।

यो विवाहले बुहारी पनि छोरी सरह नै हुन भन्ने सकारात्मक सन्देश दिएको र यसले महिला हिंसा न्युनिकरणमा थप सहयोग पुग्नेछ । आरतीको विवाहमा जनप्रतिनिधी, स्थानीय राजनितिक दलका नेताहरु, पत्रकार लगाएत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update