Kath Khabar
आज मेघगर्जन र चट्याङसहित वर्षा, भोलिदेखि मौसम खुल्ने

 

                     काठमाडौं, चैत ७ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ ।  भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्ने जाने मौसमविद्ले बताएका छन् । 

महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धनगढीमा ३१ मिलीमिटर वर्षा भएको छ। काठमाडौँमा १७, वीरेन्द्रनगरमा १७, ओखलढुङ्गामा ११, घोराहीमा १० र लुम्लेमा २२ मिलीमिटर वर्षा मापन गरिएको छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ। अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update