Kath Khabar
काठमाडौँ उपत्यकामा अपराह्नतिर हल्का वर्षाको सम्भावना

 

                    काठमाडौं, चैत ९। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

काठमाडौँको मौसम बिहानैदेखि सफा रहेको छ । अहिले पारिलो घाम लागे पनि अपराह्नतिर काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना छ ।

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
    
रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा  उल्लेख छ ।

भोलि शुक्रबार पनि लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भेगमा आंशिक बदली रहनुका साथै लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघ चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update