Kath Khabar
२०७८ को नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

 

                    काठमाडौं, चैत १० ।  राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गर्नुभएको हो । सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।  विक्रम सम्वत् २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेकोमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ, जसअनुसार लैंगिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कुल जनसंख्यामध्ये अन्य लिङ्‍गी (लैङ्‍गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९ सय २८ देखिएको छ जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हो । जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो।

जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर
जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप (१.६७ प्रतिशत) रहेका छन्।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभागमार्फत २५ कात्तिकदेखि ९ मंसिरसम्म २०७८ सालको जनगणना संकलन गरेको थियो। गत २०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update