
बारा, चैत १७ । एसईई परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेको विद्यार्थीले मोबाइल परीक्षा हलमा छिराएर प्रश्नपत्रको फोटो खिचेर बाहिर साथीहरूलाई सामाजिक सञ्जालमा पठाएको पाइएको प्रहरीले बताएको छ ।
परीक्षा हलमा बसेर फोटो खिचेर पठाउने एक जना विद्यार्थीलाई मोबाइलसहित र बाहिरका अर्को एक जना गरी दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । प्रश्नपत्र आउट भएको तर उत्तर पठाएको नदेखिएको प्रहरीले बताएको छ ।
एसईई परीक्षा शुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको नेतृत्वको टोलीले सो विद्यालयमा पुगेर छानविन शुरु गरेको थियो।