
काठमाडौं, जेठ २७ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहनुभएको कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको आज उद्धार गर्नुभएको हो ।
तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किनुभएको थियो । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उहाँ भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो । दुर्घटनालगत्तै उहाँको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याउनुभएको थियो ।
काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको उहाँको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो ।
नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उहाँ घरमै थन्किनुभएको थियो । ‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उहाँको पर्याप्त हेरविचार समेत हुन सकेन ।’ उहाँलाई नजिकबाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेल्नुभएका नवजीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालले भन्नुभयो– ‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यवस्था मिलाउनुभएको हो ।’
दाहालका अनुसार दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित हुनुभएको छ । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँदी निशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने दाहाल सुनाउँनुहुन्छ । ‘कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्दनाक देखेपछि मैले सहयोगको अपीलसहित पोष्ट गरेँ ।’ दाहालले भन्नुभयो– ‘मनकी धनी मेघा चौधरी ज्यूले म उपचार गर्छु भनेर उद्धार गर्नुभयो । म धेरै खुशी छु ।’
यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उहाँलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । बिहीबार बिहान नर्भिक अस्पतालको एम्बूलेन्स गएर कलाकार घिमिरेको उद्धार गरेको होे । उहाँलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । हाल उहाँको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ ।
प्रारम्भिक जाँचको क्रममा उहाँमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन । नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गर्नुभएको छ । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहालले भन्नुभयो– ‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’
हाल निशा बोल्न सक्नुहुन्न, अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्नुहुन्छ र आँसु बगाउने गर्नुहुन्छ । जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अवस्थामा हुनुहुन्न । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि चौधरीको पहलमा उनको उद्धार भएकोमा छिमेकी र उनका अभिभावक समेत खुशी छन् । ‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस् ।’ निशाका बुबाले भने- ‘छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’
उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताउनुभयो । अब आफ्नै समन्वयमा उहाँको सम्भव हुनेजति उपचार गरिने उहाँले जानकारी दिनुभयो । समाजसेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिसक्नुभएको छ ।