
काठमाडौं, जेठ २७ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न आउनुभएका पोल्याण्डका नागरिक टोमास्ज ज्याबोकलिकीलाई आधार शिविरमा पुगेको केही दिनमै एकाएक ज्वरो आयो । शरीर थिलथिलो भएपछि उहाँको तत्काल पीसीआर चेक गरियो । कोभिड-१९ को संक्रमण पुष्टि भयो । उहाँसँगै उहाँको टिमका ३ जनामा संक्रमण देखियो ।
अरुको अवस्था सामान्य भए पनि ६३ वर्षीय टोमास्जको अवस्था भने जटिल बन्दै गयो । स्वयम् उहाँलाई पनि आफू बाँच्छुजस्तो लागेको थिएन रे । ‘नेपालमा यूरोपमा जस्तो स्वास्थ्य सेवा नपाइएला, अब यतै मर्नुपर्ने अवस्था बन्ने भयो भन्ने लागेको थियो ।’ बुधबार स्वदेश फर्किनुअघि थापाथलीस्थित नर्भिक अस्पतालबाट डिस्चार्जको कागजात बुझ्दै टोमास्जले भन्नुभयो– ‘तर, यहाँ पनि यूरोपका झै स्तरीय अस्पताल रहेछन् ।’
उहाँले आफूले हचुवाको भरमा नर्भिक अस्पतालको सेवालाई यूरोपका अस्पतालले दिने सेवासँग तुलना नगरेको पनि प्रष्ट्याउनु भयो । ‘मैले यो कुनै कथा भनिरहेको छैन, यो यथार्थ हो ।’ उहाँले भन्नुभयो –‘नर्भिकको मेडिकल प्रोसेड्यूर र सेवा यूरोपकै जस्तै रहेछ । मैले यहाँ बस्दाका प्रत्येक प्रोसेड्यूरको विषयमा यूरोपस्थित मेरा निजी चिकित्सकहरुलाई जानकारी गराउने गरेको थिए, उनीहरुले पनि नर्भिकको मेडिकल प्रोसेड्यूर चेक गरे । नर्भिकका डाक्टरहरुलाई पनि यूरोपका मेरा डाक्टरहरुसँग निरन्तर सम्पर्क गराएका थिए । सो क्रममा मेरा निजी डाक्टरहरुले नै पनि ‘नर्भिकको सेवा तथा उपचार प्रक्रिया यूरोपको जस्तै रहेको’ भन्नुभएको छ ।
कोभिड संक्रमणबाट ग्रस्त भई गम्भीर बन्नुभएका उहाँ करिब एकमहिना लामो उपचारपछि ठीक हुनुभएको हो । अस्पतालका डाक्टरहरुका अनुसार नर्भिक ल्याइपुर्याउँदा उहाँको अवस्था निकै जटिल थियो । सघन उपचार कक्षमा राखेर उहाँको उपचार गरिएको थियो । उहाँले नर्भिक अस्पतालबाट विदा हुँदै गर्दा नेपालजस्तो सानो र विकासोन्मुख मुलुकमा समेत यूरोपकै स्तरको स्वास्थ्य सेवा रहेकोमा खुशी प्रकट गर्नुभयो । नर्भिकका डाक्टर तथा नर्सहरुको व्यवसायिकता, मीठो बोलीबचन र हंसमुख व्यवहारको समेत उहाँले खुलेर प्रशंसा गर्नुभयो ।
‘यहाँका डाक्टरहरु पूर्ण व्यवसायिक हुनुहुँदोरहेछ । डा. शैलेन्द्र, डा. ऋतिका लगायतको सेवा निकै प्रोफेसनल लाग्यो ।’ उहाँले थप्नुभयो– ‘नर्सहरु समेत कोमल हृदयका र सहयोगी भावना बोक्ने रहेछन् । उहाँहरुको मुस्कान त झनै राम्रो ।’
उहाँले अस्पतालमा आफूलाई कुनै समस्या नरहेको र नेपाल जाने आफूजस्तै पर्यटक तथा आफ्ना साथीभाईलाई कुनै स्वास्थ्य समस्या परे नर्भिक नै जान आफूले सल्लाह दिने समेत बताउनुभयो ।