Kath Khabar
'कोरोना सङ्क्रमण बढ्यो, समयमै सतर्कता अपनाऔँ '

                   
                     काठमाडौं, वैशाख ३ । पछिल्लो केही हप्तादेखि कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको छ । कोरोना सङ्क्रमित बढ्न थालेसँगै काठमाण्डाै उपत्यकाका अस्पतालहरुमा कोभिड-१९ विरुद्धको खोप लगाउनेहरुको सङ्ख्या बढ्न थालेको छ ।

केही दिनयता नेपालमा दैनिक एक सयको हाराहारीमा सङ्क्रमितहरु बढिरहेका छन् । यस बीचमा केही नागरिकहरुको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएकाे छ । तर कोरोना भाइरसको सङ्क्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताउनु भयो ।

उहाँले कोरोना भाइरस बढिरहनुको कारण अहिलेकाे लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको र नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधाभन्दा धेरै नयाँ प्रजातिका रहेको बताउनु भयो । डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी १ दशमलव १६ समुदायमा बढी सङ्क्रमण फैलाउने किसिमको रहेको जानकारी दिनुभयाे । उहाँले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत सङ्क्रमण फैलाइरहेको बताउनु भयो ।

कोरोना सङ्क्रमण बढेसँगै अहिले काठमाण्डाैको शुक्रराज अस्पतालमा पनि कोरोना सङ्क्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ।

डा. पुनले स्वास्थ्यका मापदण्डसहित सतर्कता अपनाए थप क्षति बेहोर्न नपर्ने बताउनुभयो। कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गर्नुभएको छ । उहाँले कोरोना सङ्क्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि सुझाव दिनुभयो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update