
काठमाडौं, वैशाख ५ । नेपाल नेत्रज्योति संघको आयोजनामा हुम्ला र कालिकोट जिल्लामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । हुम्ला र कालिकोटमा सम्पन्न आँखा शिविर मार्फत १ हजार ६ सय ८८ जनाको आँखा परिक्षण गरि २३५ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
नेपाल नेत्र ज्योति संघ, हिमालय आँखा अस्पताल पोखराको आयोजना एवं प्राविधिक सहयोग अनुसार नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक सहयोग र आई केयर फाउण्डेसनको विशेष सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
चैत्र २५ गतेदेखि २७ गतेसम्म जिल्ला आँखा उपचार केन्द्र, कालिकोटको स्थानीय आयोजनामा चलेको आँखा शिविरमा १ हजार ७८ जनाको आँखा जाँच गरि २०० जनालाई चस्मा वितरण गरिएको थियो भने १९२ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरिएको थियो । त्यस्तै वैशाख १ गतेदेखि ३ गतेसम्म चंखेली गाऊँ पालिका पिप्लाङ, हुम्लाको स्थानीय आयोजना चलेको आँखा शिविरमा ६१० जनाको आँखा जाँच गरि २१० जनालाई चस्मा वितरण गरिएको थियो भने ४३ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरिएको थियो ।
आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीहरूले आफ्नो घर आँगनमै आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत दिएका थिए । नेपाल नेत्रज्योति संघले कोही पनि नागरिक पहुँच र आर्थिक अभावमा दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने हेतुले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा देशैभरी निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरहरू संचालन गर्दै आइरहेको छ ।
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका नेत्रअधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा शिविर सञ्चालन गरेको हो । उक्त टोलीले मुगु, हुम्ला र कालिकोट जिल्लामा ४ वटा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा देशैभरी वार्षिक हजारौँ निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।
नेपाल नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।