Kath Khabar
आज भूकम्पको आठौं स्मृति दिवस मनाईदै

 

              गोरखा, वैशाख १२ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ ।

विसं २०७२ वैशाख १२ गते आजकै दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र चार सय ७१ जनाको निधन भएको थियो ।

आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ । काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन् । बारपाक सुलीकोट गाउँपालिकाको आयोजनामा भूकम्प स्मृति समारोह आयोजना हुन लागेको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सहरी विकासमन्त्री सीता गुरुङलगायत सरकारी अधिकारीहरूको सहभागिता हुने जनाइएको छ ।

भूकम्प र ज्यान गुमाएकाहरूको स्मृतिमा निर्माण गरिएको स्मृति उद्यानको काम पूरा नभएको र पहिराले क्षतिको जोखिम बढाएकाले आज सो विषयमा समेत मन्त्रीहरूसँग छलफल र ध्यानाकर्षण गराउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पबाट हुने क्षति न्यूनीकरणका विषयमा दुईदिने कार्यशाला आयोजना गरेको छ । भूकम्पको केन्द्रविन्दु बारपाक काठमाडौँबाट ८० किलोमिटर उत्तर–पश्चिममा पर्छ । यो भूकम्प हिमालयमा गइरहने थ्रष्ट प्रकृतिको करिब १५ किलोमिटर गहिराइमा गएको मानिन्छ । उक्त भूकम्पले काठमाडौँ उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब एक मिनेट कम्पन गराएको थियो ।

यसको असर पूर्वमा ताप्लेजुङ, पश्चिममा रुकुम र दक्षिणमा चुरे पहाडका अधिकांश भू–भागसम्म परेको थियो । उक्त भूकम्पको झट्का भारतको दार्जिलिङ, बिहार र उत्तर प्रदेशलगायत दिल्लीसम्म पुगेको सार्वजनिक भएको थियो ।

भूकम्प गएको ठीक ३४ मिनेट पछाडि मध्याह्न १२ः३० बजे उक्त दिन सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर छ दशमलव छ रेक्टरस्केलको कडा पराकम्पन गएको थियो । भूकम्पका परकम्पन मिनेट–मिनेटमा गएका थिए । पुनश्चः वैशाख १३ गते सिन्धुपालचोकलाई केन्द्रविन्दु बनाएर गएको छ दशमलव नौ रेक्टरस्केलको परकम्पले गोरखाबाट सिन्धुपालचोकसम्मको करिब एक सय ४० किलोमिटर क्षेत्रमा दरार उत्पन्न गरी यस क्षेत्रमा अकल्पनीय विनास गर्यो ।

भूकम्प र त्यसपछिका ठूला पराकम्पनसँगै चार रेक्टर स्केलभन्दा ठूला अन्य सयौँ परकम्पन एवं हजारौँको सङ्ख्यामा अरु स–साना परकम्पनले नेपालको मध्यभागलाई कम्पित र त्रसित तुल्याएको थियो । त्यो भूकम्प पछिल्लो ८० वर्षकै ठूलो भूकम्प थियो । मुलुकले बिर्सन नसक्ने गरी भूकम्पले धनजनको क्षति गराएको थियो । त्यसअघि विसं १९९०, २०३७, २०४५ र २०६८ मा गएको भूकम्पले नेपालमा विभिन्नस्तरमा क्षति गराएको पाइन्छ ।

विसं २०७२ को भूकम्पले १९९० पछिकै बढी क्षति गराएको गृह मन्त्रालयले जनाएको छ । त्यो भूकम्पबाट आठ हजार नौ सय ७० जनाको मृत्यु भएको गृह मन्त्रालयले तथ्याङ्क छ । मृत्यु भएका मध्ये ९८ दशमलव सात प्रतिशत अतिप्रभावित जिल्लाका नागरिकहरू छन् । ५६ प्रतिशत महिला परेका छन् । १ सय ९५ जना बेपत्ता रहे । उक्त भूकम्पमा २२ हजार तीन सय दुई जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । कुल आठ लाख बढी निजी आवास, आठ हजार जति विद्यालय, करिब नौ सय २० ऐतिहासिक सम्पदासहित अस्पताल, सरकारी घर/भवन र निजी घर भत्किँदा करिब रु सात खर्ब छ अर्ब बराबरको क्षति भएको तथ्याङ्क छ ।

सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना गरी त्यसमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य करिब–करिब सकेको थियो । बाँकी भएका काम सम्बन्धित मन्त्रालयलाई जिम्मा दिएर प्राधिकरण गएको थियो । भूकम्प हरेक वर्ष गइरहन्छ तर महसुस नगरेका चार म्याग्निच्युटभन्दा तलका भूकम्पको विवरण सार्वजनिक हुने गरेको छैन ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update