
काठमाडौं, वैशाख १७ । कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । उनको अवस्था सुधार हुँदै आएपछि भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरले उनलाई डिस्चार्ज गरेको हो ।
गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि स्वदेश फर्किएका हुन्। पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् ।
उनले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीहरु सबैप्रति आभार र धन्यवाद व्यक्त गरेका छन् । सांसद भण्डारीले ग्यास विस्फोटमा आफूसँगै घाइते भएकी आमा बितेको पनि आफूले भर्खंरैमात्र थाहा पाएको बताए ।
सो आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकलासमेत गम्भीर घाइते भएकी थिइन् र उपचारका क्रममा गत फागुन ४ गते उनको निधन भएको थियो।