Kath Khabar
अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन अझै चार/पाँच घन्टा लाग्ने

 

                        धादिङ, वैशाख १९ । पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घन्टा लाग्ने भएको छ। भासिएको ठाउँमा ग्यावियन जाली भर्ने काम भइरहेको छ।

यसका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले काम जारी राखेका छन्। सोमबार दिउँसोदेखि अवरुद्ध  बाटो तत्काल खुलाउन सकिने अवस्था छैन। काम भइरहेकाले कम्तीमा चार/पाँच घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा  सवारीसाधनको लामो जाम लागेको छ। यात्रु अलपत्रमा परेका छन्। पूर्वपश्चिमबाट आउने केही यात्रु स्थानीय गाडी प्रयोग गरेर वैकल्पिक बाटोबाट गन्तव्यतर्फ हिँडेका छन् भने अधिकांश यात्रु त्यही रोकिएका छन्। धार्के क्षेत्रमा जाम लागेपछि प्रहरीले गाडीलाई बीच बाटोमै रोकेका छन्।

धादिङको धार्केबजार नजिकैको गणेशखोला पुलको मुखमा जमिन भासिएको हो। पृथ्वीराजमार्ग हुँदै पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ भित्रने र बाहिरने यो नै एकमात्र राजमार्ग हो । सोमबार दिउँसो केही समय परेको पानीले पुलको मुनि लगाइएको पर्खाल भासिएको छ ।

वैकल्पिक स्थानीय बाटोको लागि काठमाडौंतर्फ जानेले पाँच किला भन्ने ठाउँबाट फोगटपुर–बाइरोड सडक हुँदै काठमाडौँ पुग्न सक्छन्। जुङ्गेखोला भन्ने ठाउँबाट बाइरोड निस्कन पनि सकिन्छ। सातकिला–बाइरोड, आठकिला–चिउरीपार्टी हुँदै धार्के र काठमाडौँबाट गल्छीतर्फ जानेले धार्केबाट केवलपुरको बाटो प्रयोग गर्न सकिनेछ।

त्यस्तै धादिङ, नुवाकोट र रसुवा जिल्लाबाट काठमाडौँ भित्रने र बाहिरिनेहरूले नुवाकोटको त्रिशूलीबाट छहरे ढिकुरेको बाटो प्रयोग गर्न सकिन्छ। पूर्व–पश्चिमबाट काठमाडौं आउजाउ गर्ने सवारीले हेटौँडा हुँदै दामन पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सकिन्छ। त्यस्तै हेटौँटाबाट भैंसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङ निस्किएर काठमाडौं पुग्न सकिन्छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update