
काठमाडौं, वैशाख २१ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
आज दिनभर नै लुम्बिनी, गण्डकी, वाग्मती, मधेस, कोशीलगायतका प्रदेशमा हल्का तथा मध्यम वर्षा भईरहेको छ र यो क्रम आज दिनभरि नै हुनसक्ने मौसमविदले जानकारी दिएका छन् ।
देशको कोशी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आजदेखि पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै गएकाले शुक्रबारबाट भने मौसममा सुधार आउने मौसमविदले बताएका छन् ।