Kath Khabar
मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए ७ वर्ष कैद ७० हजार रुपैयाँसम्म जरिवाना

 

               काठमाडौं, वैशाख २२ ।  पैसा सापट दिएर मिटर ब्याज उठाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ।

सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई सजाय थप गरेको अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ। मौजुदा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै सरकारले मिटरब्याजीलाई सजाय बढाएको हो।

संशोधित कानुन लागु हुनुअघि भएको लेनदेनको कारोबारको आधारमा ऋणीलाई हैरानी तुल्याउनेहरू ७ वर्षसम्म जेल सजायको भागिदार हुने भएका छन्। संशोधित कानुन अनुसार लेनदेन नभएको वा नगरेको रकम दिएको लिखत तयार गर्ने, लेनदेन गरेको रकम भन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दा नै ब्याज रकम समेत साँवामा जोडी लिखत तयार गर्ने सजायको भागिदार हुनेछन्।

त्यस्तै ब्याजलाई साँवामा जोडी लिखत तयार गर्ने, ऋणीले तिरेर बुझाएको रकमको भरपाइ नदिने वा लिखत बनाउने, ऋणको साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीको लागि कुनै प्रकारको धम्की दिने, हिंसा वा शोषण गर्ने, अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिनेलाई ७ वर्षसम्म जेल जाने भएका हुन्।

पछिल्लो समय मिटर ब्याजमा लगाउने र ऋणीलाई घरजग्गा खोस्ने र कतिपयलाई यौन शोषणसम्म गर्ने गरेको गुनासो बढेको छ। तराई मधेसका पीडितहरू काठमाडौंसम्म पैदलै आएर आन्दोलन गरेपछि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेर उजुरी लिइरहेको छ।

पैसा मिटरब्याजमा लगाएर ऋणीलाई दुःख दिनेलाई निरूत्साहित तुल्याउन सरकारले अध्यादेश मार्फत् कानुन संशोधन गरेको हो।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update