
काठमाडौं, वैशाख २२ । आज वर्षको पहिलो पटक लाग्न लागेको चन्द्रग्रहण विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण हो । यो एक धेरै आकर्षक खगोलीय घटना हो ।
चन्द्रग्रहण तीन प्रकारका हुन्छन् – पूर्ण चन्द्र ग्रहण, आंशिक चन्द्र ग्रहण र पेनम्ब्रल चन्द्रग्रहण । चन्द्रमा पृथ्वीको छायाको पातलो र बाहिरी क्षेत्रबाट गुज्रदा पेनम्ब्रल ग्रहण हुन्छ । विज्ञान तथा ज्योतिषशास्त्रका अनुसार चन्द्रग्रहण आज शुक्रबार राति ८ः५९ बजे सुरू भई ११ बजेर ७ मिनेटमा मध्य हुने र राति १ः१६ मा ग्रहण सकिने जनाइएको छ। यो ग्रहण साढे ४ घण्टासम्म रहनेछ ।
ज्योतिषशास्त्रका अनुसार वर्षको यो पहिलो चन्द्रग्रहण छाया ग्रहण भएकाले यसको सुतक अवधि मान्य हुनेछैन । यस अवधिमा चन्द्रमा पृथ्वीको छायाबाट गुज्रनेछ, जसले गर्दा चन्द्रग्रहण हुनेछ । पृथ्वीको सापेक्षिक आकार चन्द्रमाको भन्दा ठूलो छ, जसको मतलब यसको छाया पनि प्राकृतिक उपग्रहको भन्दा धेरै ठूलो छ।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन छायाँ र विरल छायाँ । चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ। विरल छायाँमा पर्दा विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण हुन्छ।
यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोमा यसको चर्चा नगरिएको नासोले जनाएको छ। यो ग्रहणको बेला तस्बिर खिचेर केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायका लागि भने यसको ठूलो महत्व हुन्छ।