Kath Khabar
डीभी चिठ्ठा २०२४ को नतिजा सार्वजनिक

 

                काठमाडौं, वैशाख २४ । अमेरिकाले गत वर्ष खोलेको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा सार्वजनिक गरेको छ । सन् २०२४ का लागि गत अक्टोवरको डीभीको नतिजा हिजो राति सार्वजनिक भएको हो ।

डिभी परे नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । यसको लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, नाम, जन्म मिति राखेर नतिजा हेर्न सकिन्छ ।  डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ।

नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकहरुले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनमार्फत डिभी भर्दै आएका छन् । अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ । यसअनुसार हरेक वर्ष १ करोड देखि २ करोडसम्मले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एशियालीहरुको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।

अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो । यसअनुसार हरेक वर्ष विभिन्न मुलुकबाट १ लाख आवेदकलाई दामाशाहीबाट छान्ने गरिन्छ भने ५० हजारलाई ग्रीनकार्ड दिइने प्रावधान छ । डिभी चिठ्ठा दामाशाहीबाट छानिने भएकाले डिभी पर्ने नपर्ने निश्चित भने हुँदैन ।

डिभीका लागि छानिँदैमा कसैले भिसा पाइहाल्छ भन्ने हुँदैन । भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्‍यौल गर्नेछन् ।

अमेरिकी दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update