काठमाडौं, वैशाख २५ । कीर्तिपुरको प्यंगथाँ (सांस्कृतिक चोक) बाट रातो मच्छिन्द्रनाथ र याकःमिसा (कन्या कुमारी) को प्रतिमूर्ति आइतबार हटाइएको छ । कीर्तिपुर नगरपालिकाको सक्रियतामा नगर प्रहरी र जनपद प्रहरीसमेत परिचालन गरेर आइतबार साँझ दुवै मूर्ति झिकिएको हो ।
गत मंसिर १५ गते समाजकै अगुवाइमा मूर्ति यहाँ प्रतिस्थापन गरिएको थियो । रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने पुजारीहरूको संगठन श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले ती मूर्ति हटाइएन भने यसपालिको जात्रामा आफूहरू फूल–प्रसाद लिएर प्यंगथाँ नजाने अडान लिँदै आएको छ।
प्यंगथाँकी जीवित देवी याक:मिसालाई फूलप्रसाद चढाउन जाने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ । रातो मच्छिन्द्रनाथको जात्रा कम्तिमा १४ सय वर्षदेखि चल्दै आएको मानिन्छ । कीर्तिपुरको शक्तिपिठ मानिने प्यंगथाँ र आसन्न रातो मच्छिन्द्रनाथको भोटो जात्राबिच परम्परागत सम्बन्ध छ। हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जावलाखेलतर्फ तान्नुभन्दा चारदिन अघि जल पानेजु (मच्छिन्द्रनाथका पुजारी) नाँगै खुट्टाले हिँडेर कीर्तिपुरस्थित प्यंगथाँ पुगी याक:मिसाबाट प्रसाद ग्रहण गराउने परम्परा छ ।
यो परम्परालाई बेवास्ता गरी मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापना गरिएकाले सो नहटाएमा प्रसाद ग्रहण गराउने परम्परालाई निरन्तरता दिन नसकिने अडान पानेजु सङ्घको छ । यससम्बद्धमा श्री हयगृव भैरवनाथ तथा ३२ पानेजु सङ्घद्वारा जारी विज्ञप्तिमा रातो मच्छिन्द्रनाथ तन्त्रसाधनाका देवता भएको र याक:मिसा जीवित देवी भएकीले उनको प्रतिमूर्ति बनाएर स्थापना गर्न नहुने उल्लेख छ ।
कीर्तिपुर–२ स्थित प्यंगथाँमा प्रतिमूर्ति स्थापना गरिएपछि प्रतिमूर्ति राख्न हुन्छ कि हुँदैन भन्ने सार्वजनिक बहसको विषय बनेको थियो ।