Kath Khabar
स्रोत नखुलेको आठ लाख नेपाली रुपैयाँ सहित भारतीय मोटरसाइकल नियन्त्रणमा



               काठमाडौं, वैशाख ३१ । सर्लाही जिल्ला मलङ्गवा नगरपालिका ८ स्थित भन्सार इलाकाबाट शनिवार सशस्त्र प्रहरीले  स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलङ्गवा (विओपी मलंगवा ) ले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलङ्गवामा बुझाइएको छ । यसैगरी सोही जिल्लाको ब्रह्मपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० के.जी गाँजासहित एउटा भारतीय मोटरसाइकल बैशाख ३१ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजादै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाइकल सोही ठाउँमा छाडी व्यक्ति भने फरार भएका थिए ।

नियन्त्रणमा लिएको गाँजा र मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update