Kath Khabar
‘मेरो गाउँ, मेरो ठाउँ’ लाई नेपाल टेलिभिजनको साथ



                    काठमाडौं, जेठ १ ।  ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा हुने भएकोछ । फाउन्डेसन र टेलिभिजनबीच आइतबार उक्त सम्झौता भएको हो । जेष्ठ १३ गते हुने प्रतियोगिताको विजेता घोषणा कार्यक्रम (ग्राण्ड फिनाले) नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।  

पर्यटकीय दृष्टिकोणले ओझेलमा परेका स्थान, भाषा, कलासंस्कृति, रहनसहन लगायतका मौलिकता उजागार गर्नु राष्ट्रिय टेलिभिजनको समेत दायित्व रहेको महाप्रबन्धक फूलमान वल तामाङले बताए । ‘पहिचानका अनेक आयामहरू छन्, यी सबै चीजलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ फाउन्डेसनले भिडियो च्यालेन्ज प्रतियोगिता सुरु गरेको छ’, महाप्रबन्धक वलले भने, ‘यस अभियानमा नेपाल टेलिभिजन पनि जोडिन पाउँदा अत्यन्त खुसी छौँ ।’

नेपाल टेलिभिजनसँगको सहकार्यका कारण प्रतियोगिताको उचाई थप चुलिएको र देशमा ओझेलमा परेका पर्यटकीय थलोहरूलाई उजागर गर्न यसले अझ मद्दत पुर्याउने फाउण्डेसनका निर्देशक तथा कार्यक्रम संयोजक निर्मल श्रेष्ठले बताए । ‘यो सहकार्यले सहभागी प्रतियोगीहरूलाई समेत आफ्नो गाउँठाउँलाई प्रर्वद्धन गर्न अझ उर्जा थप्ने विश्वास लिएको छु’, निर्देशक श्रेष्ठले भने ।  

सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपाने, निमित्त नायव महाप्रबन्धक आरती चटौत, निर्देशक राजकुमार थापा लगायत फाउण्डेसनका इभेन्ट म्यानेजर प्रभात रिमालको उपस्थिति थियो ।

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ को नोमिनेसन जेष्ठ ४ गते सार्वजनिक हुनेछ । कुल दस विधा रहेको प्रतियोगिताको प्रत्येक विधामा सात नोमिनेसन छनौट गरिनेछ । उत्कृष्ट वृत्तचित्रहरुले नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्राप्त गर्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले जेठ १३ गते राष्ट्रिय सभागृह, काठमाडौँमा हुनेछ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको समेत साथ रहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update