Kath Khabar
नेपाली सेनाको सफा हिमाल अभियानको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण


               काठमाडौं, जेठ १ । नेपाली सेनाको अगुवाइमा संचालन भइरहेको सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सह सेनानी बिष्णुबल राई, सह सेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुवंर र प्युठ किशोर जबेगु आज अर्थात २०८० ज्येष्ठ १ गतेको १००५ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनीहरूसँगै अभियानका सहभागी सरदार ओङ्छुम शेर्पा लगायत पाँच जना शेर्पाहरुले पनि सगरमाथा आरोहण गरेका छन् । यसअघि मिति २०८० बैशाख ०४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन् ।

यसअघि मिति २०७९ चैत्र १४ गते जङ्गी अड्डा मा आयोजित फ्ल्याग अफ सेरेमोनी मा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी शुरु भएको उक्त अभियानबाट करिब ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ३२ हजार ३ सय ११ किलो फोहोर संकलन भईसकेको छ । यो अभियान विश्व वातावरण दिवस अर्थात जुन ५ मा समापन हुनेछ ।

 

 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update