
काठमाडौं, जेठ ७ । पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
वसन्त ऋतुको जारी आरोहणका क्रममा बुढामगर यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनी कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति बनेका छन् ।
दुवै खुट्टा नभएका उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न आधार शिविरतर्फ लागेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुपरेको थियो । बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरे।
बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको उनले बताएका छन् । ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ’, उनले भने ।