काठमाडौं, जेठ ८ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले बनाएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो ।
करोडौँ असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्ष छ । १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रूपमा प्रतिवेदनमा समावेश छ। रायसहितको यी कसुरमा ७ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने र ठगीको रकम असुल उपर गर्ने प्रावधान छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितबाट कम्तीमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेपछि अनुसन्धान थालिएको थियो।
यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीसहित १६ जना पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजसहितका १७ जना भने फरार छन् ।