Kath khabar
काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्न अझै २ महिना लाग्ने

 

                काठमाडौं, जेठ १४ ।  नेपाल विद्युत् प्राधिकरणले अबको २ महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको छ ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालय सहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी शुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेका छन् ।

भूमिगत लाइनबाटै घर घरमा बिजुली पुर्याउन प्राधिकरणले पूर्वाधार बनाउँदै गरेको र तार भूमिगत गर्ने काम सकिएका फिडरहरूमा क्रमशः यो काम गर्दै जाने योजना बनाइएको जनाइएको छ । प्राधिकरणले सडकबाट उपभोक्ताका घर र कार्यालयसम्म भूमिगत रूपमा तार लगेर मिटरमा भूमिगत लाइनबाट बिजुली जोडे पनि केही महिना पोल भने नहटाउने योजना रहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

आउँदो हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइन चार्ज गर्ने प्राधिकरणको योजना रहेको जनाइएको छ । हिउँदमा काठमाडौंमा विद्युत् लोड बढेर वितरण लाइनमा समस्या देखिने गरेको छ । यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका करिब एक लाख घरमा स्मार्ट मिटर जोडेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । काठमाडौंको वितरण लाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यकाभर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ ।

काठमाडौंमा भूमिगत वितरण लाइन बिछ्याइ रहेको प्राधिकरणले केही महिनापछि ओभरहेड वितरण लाइन हटाउने जनाएको छ । यसपछि इन्टरनेटका तार समेत पोलमा राख्न नपाइने भएकाले प्राधिरकणले विकल्प सोच्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update