Kath khabar
शीर्ष नेताहरु भ्रष्ट भएकोले लोकतन्त्र खतरामा, पहाडीसहित १७ अधिकारकर्मी गिरफ्तार

 
                काठमाडौं, जेठ १४ । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले  १६ औ गणतन्त्र दिवसको पूर्व सन्ध्यामा काठमाण्डौमा आयोजना गरेको धर्ना प्रदर्शनबाट प्रहरीले १७ जना अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।

जेठ १४ गते सिंहदरबार दक्षिण ढोका अगाडि शीर्ष नेताहरु भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर, तीन तहको सरकार : सुशासन, पारदर्शिता र जबाफदेहीता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित धर्ना प्रदर्शन गरेको थियो ।

प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवाहरु अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरू चन्द्रमणी बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणि गौतम, रिता अधिकारीसहित १७ जनालाई गिरफ्तार गरेको हो ।

गिरफ्तार अधिकारकर्मीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ । प्रदर्शनमा भ्रष्टाचार हटाऊ : लोकतन्त्र बचाऊ, शिर्ष नेताहरुको सम्पत्ति छानविन गर, नक्कली शरणार्थी प्रकरण :शीर्ष नेताहरुमाथि छानविन खोइ ?, शीर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणको सूक्ष्म अध्ययन/अनुसन्धान गरि दोषीहरू प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन कानुन सम्मत कारबाही गर्न माग गर्दै जेठ १ गतेदेखि शुरु गरेको अभियानका क्रममा २२ जिल्लामा ५० वटा धर्ना प्रदर्शन भइसकेको छ भने यो प्रकरणमा संलग्नहरुलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको निन्दा गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update