Kath khabar
राजा वीरेन्द्रको वंशनास भएको २२ वर्ष पूरा, घटना अझै रहस्यमय

 

                   काठमाडौं, जेठ १९ । आज जेठ १९ गते । दरबार हत्याकाण्ड भएको दिन । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो ।

पारिवारिक जमघट भइरहेका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराजधिराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन, वीरेन्द्रका भाइ अधिराजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यको गोली प्रहार गरी हत्या भएको थियो । दरबार हत्याकाण्ड कसले, किन र कसरी गर्यो भन्ने विषयको उत्तर हालसम्म पाइएको छैन ।

दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा विस्मयकारी घटना हो । पूरा मुलुक नै स्तब्ध हुनेगरी भएको उक्त नारायणहिटी राजदरबार हत्याकाण्डका कतिपय विषय शंकाको घेरामा छन् । कतिपय विश्लेषकहरूले सोही घटनाका कारण राजतन्त्रको अन्तिम अध्याय सुरु भई गणतन्त्रको अध्यायको बलियो पृष्ठभूमि लेखिएको तर्क गर्ने गरेका छन् । बेलामौका चर्चा हुन्छन् तर यसको मिहिन अध्ययन र अनुसन्धान नभएको गुनासा पनि आउने गरेका छन् । हरेक सरकारले सत्ताको वागडोर सम्हाल्दा दरबार हत्याकाण्डको छानबिन गर्ने उद्घोष गर्ने गरेका छन् । दुईदशक बितिसक्दा पनि सो विषयमा छानबिन भएको छैन ।

सो घटना तत्कालीन युवराज दीपेन्द्रले घटाएको तथ्य बाहिर निकालिएको थियो । सपरिवारको हत्या गरी आफैंले गोली हानेर आत्महत्या गरेको सरकारी भनाइ थियो । तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्ड अधिराजकुमार दीपेन्द्रले गरेको बताएका थिए ।

नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भएको थियो । नारायणहिटी दरबार अहिले सङ्ग्रहालयका रुपमा रहेको छ । सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ पनि नागरिकका लागि खुला राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update