Kath khabar
मनसुनको संघारमा किन गर्मी बढ्यो ?

 

                    काठमाडौं, जेठ १९ । विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ। पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको बताइन्।

'देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय (प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय) भएकाले अझै केही दिन वर्षा हुँदैन,' उनले भनिन्। ‍उक्त मौसमी प्रणालीका कारण केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन्।

उनका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने देखिन्छ । 'तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेर गर्मी बढ्ने देखिन्छ भने काठमाडौं उपत्यकामा पनि क्रमिकरूपमा तापक्रम बढिरहेको छ,' उनले भनिन्। केही दिनयता काठमाडौंको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ ।

नेपालमा सामान्यतः जुन १३ तारिखमा पूर्वी नेपाल भएर मनसुन भित्रिने सरदर मिति रहे पनि यो पटक मनसुन करिब दुई साता ढिला गरी अर्थात् असारको पहिलो सातामात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको मौसमविद् मानन्धरले जानकारी दिइन्।

विगत केही दिनयता बढेको गर्मीले धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेका छन्। मधेशका कतिपय जिल्लाका विद्यालयहरू गर्मीकै कारण धमाधम बन्द भएका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update