
काठमाडौं, जेठ २२ । आज विश्व वातावरण दिवस । वातावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।