Kath Khabar
वातावरण दिवसमा शान्ति समाजको आह्वान : चुरे मास्न  पाइदैन, पर्यावरण विरोधी नीति चाहिदैन



                 काठमाडौं, जेठ २२ । चुरे मास्न  पाइदैन : पर्यावरण विरोधी नीति चाहिदैन, हिमालय/चुरे बचाउँ : तराइलाई मरुभूमिकरण हुनबाट जोगाउँ भन्ने आह्वानसहित विभिन्न जिल्लामा वृक्षरोपण लगायत कार्यक्रम गरि मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवस मनाएको छ ।

यस क्रममा २०८० जेठ २२ गते समाजका पाल्पा, चितवन, तेह्रथुम र काठमाण्डौ शाखाले वृक्षरोपण गरेका छन् । यसैगरी समाजका दाङ, सुर्खेत लगायत शाखाले वृक्ष गोडमेल तथा सरसफाई कार्यक्रम गरि विश्व वातावरण दिवस मनाएका छन् ।

पछिल्लो चरणमा चुरे सिध्याउने गरि ढुंगा गिटी र बालुवा निकासीका लागि नेपाल सरकारले अवलम्बन गर्न थालेको घातक नीतिप्रति मानव अधिकार तथा शान्ति समाज गम्भिर चिन्ता व्यक्त गर्दछ । चुरेको अत्याधिक दोहन गरेर ढुंगा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभुमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजले बारम्बार व्यक्त गर्दै आएको छ । यसैगरी बाह्य दबाबमा परेर चुरे ध्वस्त पारी ढुंगा गिटी निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले झनै आपत्तिजनक भएको हुँदा त्यस्तो आत्मघाती नीति खारेज गर्न शान्ति समाज सरकारलाई आग्रह गरेको छ ।  

वातावरण संरक्षणका लागि कार्य गर्न केन्द्रित रही सन् १९७३ देखि ५ जुनका दिन विश्व वातावरण दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा वातावरणको क्षेत्रमा विश्वव्यापी सचेतना र आवश्यक कदम चाल्नका लागि ध्यानाकर्षण गराएको संस्थाले जानकारी दिएको छ ।    

 

 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update