Kath Khabar
सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र

 

                         भक्तपुर, जेठ २९ । सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न पुरातत्व विभागले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ।

 अरनिको राजमार्ग अन्तर्गत बनेपाको भैंसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न आइतबार परिपत्र गरिएको विभागका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए।

उनका अनुसार प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्न समेत आग्रह गरिएको छ। यस्तै विभागले राजमार्ग अन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचार गरेको छ।

गत फागुनदेखि भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार शुरू गरिएको थियो। उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो। उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कुल १५.५ किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लगाइएको छ।

दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने ७.५ किलोमिटर रहेको छ। उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update