Kath Khabar
अविरल बर्षाकाकारण देशभर बाढी पहिरोको बितण्डा

काठमाडौं, असार २। अविरल वर्षाको कारण मानिसको मृत्यु तथा बेपत्ता भएका छन् । वर्षाको कारण पाल्पा, सिन्धुपाल्चोक, मनाङ, लमजुङ, अर्घाखाँची, गुल्मी, मकवानपुर, चितवन, नवलपरासी (पूर्व) र बाजुराका केही स्थानहरुमा पहिरो गई सडक अवरोध भएको छ भने बाढीको कारण विभिन्न स्थानहरु डुबानमा परेका छन् । 

पाल्पाको रिप्दीकोट गाउँपालिका–४ सिलाङ्थोकस्थित मन्छीप बस्ने मान बहादुर भन्ने महेन्द्र भट्टराईको घरमा मंगलबार साँझ पहिरो जाँदा उनकै छोरा १९ वर्षीय मदन भट्टराइको पहिरोमा पुरिएर मृत्यु भएको छ । उहाँको घरमा पहिरो गई पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले घाइतेको उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो । पहिरोबाट महेन्द्रको घर पूर्णरुपमा क्षति भएको छ । 

यसैगरी पाल्पा, तानसेन नगरपालिका-८ जरेपिपलस्थित सिद्दार्थ राजमार्ग, तानसेन नगरपालिका-८ गौडेपुल नजिकै सिद्धार्थ राजमार्ग र रिप्दीकोट गाउँपालिका-३ हार्थोक नजिक पाल्पा–गुल्मी सडकखण्डमा अबिरल बर्षाको कारण मंगलबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२ स्थित मेलम्ची खोलामा मंगलबार आएको बाढीले सोही गाउँपालिका–१ स्थित रहेका सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका–७ स्थित ७ वटा ट्राउण्ड माछा फर्म र मेलम्ची नगरपालिका–१० र ११ जोड्ने पक्की पुल बगाएको छ । साथै हेलम्बु गाउँपालिका-२ किउल बस्ने ३१ वर्षीय माधव भण्डारी सहित ७ जना सम्पर्कमा नरहेकोले प्रहरीले खोजी गरिरहेको छ । बाढीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

मनाङको चामे गाउँपालिका–४ र नासो गाउँपालिका–३ स्थित अबिरल वर्षाको कारण मंगलबार दिउँसो आएको बाढीले चामे गाउँपालिका–४ मा रहेको जिल्ला हुलाक कार्यालयको भवन, ६ ओटा घर, सोही ठाउँस्थित रहेको घट्टे खोलाको पक्की पुल, ठाडो खोलाको काठको पुल, निमार्णाधिन आमा समूहको भवन पछाडिको भाग, २ वटा तातोपानी कुण्ड र  नासो गाउँपालिका–३ बस्ने शेर बहादुर गुरुङको घर बगाएको छ । बाढी आई घरहरु बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले चामेका ३० घरका ३ सय जनालाई जिल्ला कारागारमा स्थानान्तरण गर्नुका साथै नासो गाउँपालिका–१ का ४८ घरका ३ सय  जनालाई सुरक्षित स्थानमा सारेको छ । 

लमजुङको दोर्दी गाउँपालिका–८ हिलेबजारमा अबिरल वर्षाको कारण दोर्दी खोलामा मंगलबार दिउँसो आएको बाढीले चतुरे बिक लगायत ७ जनाको घर बगाउएको छ भने २ ओटा घर जोखिममा परेका छन् । प्रहरी चौकी चितीको प्रहरीले घर परिवारलाई सुरक्षित स्थानतर्फ सारेको छ । साथै सोही गाउँपालिका–६ कृतिपुर बस्ने कृष्ण घलेको कुखुरा फर्म बगाउनुका साथै सुप्पर दोर्दी हाईड्रो पावरको ड्याममा समेत क्षती पुर्याहएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ फुतवाङस्थित गोरुसिंगे–सन्धिखर्क सडकमा मंगलबार राति पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । गुल्मीको रेसुङगा नगरपालिका–१३ भगेरी भन्ने ठाउँमा मंगलबार पहिरो झरी रिडी तम्घास सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ । 

मकवानपुरको भिमफेदी गाउँपालिका–६ देउरालीस्थित हेटौंडा भिमफेदी कुलेखानी सडक–खण्डमा मंगलबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अबरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ । 

चितवनको भरतपुर महागरपालिका–३ बारघरे, सोही महानगरपालिका–१६ गुम्बाचौर र झनझनेस्थित अबिरल बर्षाको कारण नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा बारघरेको ३० घरधुरी, झनझनेको १ सय ५० घरधुरी र गुम्बाचौरको ३० घरधुरीलाई सुरक्षित स्थानतर्फ स्थान्नतरण गरेको  छ । 

नवलपरासीको गैंडाकोट नगरपालिका–२ बोटे टोलमा नारायणी नदीमा मंगलबार राति आएको बाढी पस्दा प्रभावित भएका करिब १ सय ५० घरधुरीका परिवारलाई ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ स्थान्तरण गरेको छ । बाजुराको बुढीन्नदा नगरपालिका-४ बस्ने जयबिर धामी र मने रोकायाको घर सोही ठाउँस्थित घोडाकोटी खोलाले कटान गरी बगाएको छ । उक्त घरका परिवार र जोखिममा रहेका १३ बटा घरका मानिसलाई सुरक्षित स्थानमा सरिसकेका छ ।

ती स्थानहरुमा नजिकका प्रहरी कार्यालयहरुबाट तत्काल खटिएको प्रहरीले स्थानीयबासी, सडक डिभिजन कार्यालय र अन्य निकायसँगको समन्वयमा अवरोध सडक खुलाउने पहल गर्नुका साथै डुबान परेका स्थानहरूमा आवश्यक उद्दार तथा खोजी कार्य गरिरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update