
काठमाडौं, असार २ । स्याङजाको भिरकोट नगरपालिका-४ दर्बुङठाटीस्थित सडकमा ग.१ ज ४९४० नम्बरको जीप अनियन्त्रित भइ बुधबार बिहान दुर्घटना हुँदा जिप सवार सोही नगरपालिका-३ बस्ने ३६ वर्षीय गणेशजंग अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिरकोट नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जीप चालक समेत अन्य ७ जनामध्ये ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने ३ जनाको भिरकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-८ चिउरा मिलस्थित सडकमा अन टेष्ट लेखिएको रोलरमा को.३५ प ५९७१ नम्बरको मोटरसाइकल मंगलबार साँझ ठक्कर खाँदा मोटरसाइकल चालक हाल वतन नखुलेका २२ वर्षीय गोकुल थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थापाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सुकुना सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । रोलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिका-१ बसन्तपुरस्थित सडकमा लु.३ च १५१९ नम्बरको गाडीले लु.२३ प १९३६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अर्घाखाची-१३ घर भएका ३२ वर्षीय रामु बिसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।