किमाथाङ्का, असार ३ । सङ्खुवासभाको हवाखोलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ । अविरल वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए ।
बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । उहाँका अनुसार सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु गम्भीर घाइते अवस्थामा फेला हुन् ।
घाइते दुवै जनाको सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । अविरल बर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरुपले क्षति पुर्याएको छ ।
उहाँका अनुसार बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् ।
पाँचथरमा पहिरोमा पुरिएकी एक बालिकाको जीवितै उद्धार
यस्तै पाँचथरको फालेलुङ गाउँपालिकामा गएको पहिरोमा पुरिएकी ९ वर्षीय बालिकाकाको पनि उद्वार गरिएको छ । फालेलुङ ३ खोलाघारीस्थित मन प्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आज बिहान ७ बजे स्थानीयले जीवितै उद्वार गरेका हुन् । मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो ।