काठमाडौं, असार ४ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले बिहीबार उक्त चलचित्रमा रहेको विवादित संवाद तीन दिनभित्र हटाउन र नहटाए महानगरभित्र कुनैपनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएपछि भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पत्र पठाएको छ ।
कम्पनीले आइतबार इमेलमार्फत पत्र पठाएर चलचित्र ‘आदिपुरुष’मा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभइ सम्पूर्ण भारतीय नारीहरुको स्वाभिमानलाई प्रतिनिधित्व गरेको उल्लेख गरेको छ । ‘सर्वप्रथम यदि हामीले कुनै पनि विषयमा नेपालको भावनामाथि चोट पुर्याएको भए माफी चाहन्छौं, कसैको सौहार्दतामा खलल पुर्याउने हाम्रो नियोजित उद्देश्य होइन,’ पत्रमा उल्लेख छ।
कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा संसारका महिलाहरुको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको बताउँदै चलचित्रलाई कलात्मक प्रदर्शनको रुपमा हेरिदिन र सहयोग गर्न भनिएको छ ।
चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले आज सोमबारदेखि काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका थिए । काठमाडौं महानगरको निर्देशनपछि आजदेखि काठमाडौं उपत्यकाका हलहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेका छन्।