Kath Khabar
‘आदिपुरुष’को प्रदर्शन देशैभर रोक्ने वितरकको निर्णय

 

                काठमाडौं, असार ४ । दक्षिण भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपाल अधिराज्यभर रोकिएको छ ।

उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्मसले एक विज्ञप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ । कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिए ।

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो । “काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ”, वितरक राठीले भने ।

वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घले सम्पूर्ण भारतीय चलचित्रमा रोक लगाएको विषयमा असन्तुष्टी व्यक्त गरेको छ । सङ्घका उपाध्यक्ष गोपालकाजी कायस्थले कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जानकारी दिए ।

यस्तै मेयर बालेनपछि पोखरा, धरानका प्रमुखले पनि प्रदर्शन नगर्न निर्देशन दिइसकेका थिए । धनगढी, वीरगञ्जलगायतका सहरमा समेत प्रदर्शनमा रोक लगाइसकिएको थियो ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update