
काठमाडौं, असार ६ । नेपाली सेनाले यही आषाढ ०२ गतेदेखिको वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी तथा पहिरोले जनजीवन प्रभावित भएको इलाकाहरुमा खोज तथा उद्धार कार्य जारी राखेको जानकारी दिएको छ ।
यसै क्रममा ताप्लेजुङ जिल्ला, सिदिङ्गवा गाउँपालिका वडा नं. ६ मेहेलेमा गएको पहिरोमा परी घाईते भएका राम कुमार राईलाई नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी थप उपचारको लागि विराटनगर लगिनुका साथै सोही गाउँपालिकास्थित गैरीगाउँ ईलाकामा जोखिममा रहेका ७ घरका करिब ३५ जना स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी सेनाले दिएको छ ।
त्यस्तै, पाँचथर जिल्ला, फिदिम नगरपालिका हेवा खोलास्थित मेची राजमार्गको पक्की पुल तथा तमोर करिडोरमा रहेको बेलिब्रिज बाढीले बगाई सडक अवरुद्ध हुनुका साथै उक्त खोलामा रहेको झोलुङ्गे पुल समेत क्षति पुर्याइएको कारण फिदिम नगरपालिकादेखि हिलिहाङ्ग गाउँपालिका हुँदै ताप्लेजुङसम्म आवत जावतमा समस्या परेको हुँदा स्थानीय श्रोत साधनको प्रयोग गरी दैनिक उपभोग्य सामान तथा राहत सामग्री ढुवानी एवं आवत जावत गर्न सकिने व्यवस्था मिलाउनुका साथै ती स्थानहरुमा अस्थायी प्रयोगको लागि गोरेटो बाटो निर्माण गरिएको सेनाको भनाई छ ।