Kath Khabar
वाग्मती, कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज ठूलो वर्षाको सम्भावना

 

                  काठमाडौं, असार ७ । आज कोशी, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा  आंशिक देखि सामान्य बदली  रहेको छ । साथै देशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षा, मेघगर्जनसहित चट्याङ, बाढी–पहिरो, भू–क्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update