1687841988.jpg)
काठमाडौं, असार १२ । १४ अर्ब हिनामिनाको आरोप लागेका शिव शिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ पक्राउ परेका छन् । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरेको हो ।
उनलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । पीडितहरुको उजुरीको आधारमा उनीमाथि सीआईबीले अनुसन्धान थालेको हो । शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको आरोप छ । नेपालमा सहकारी ठगीको यो अहिलेसम्मकै ठूलो घटना हो ।
उक्त हिनामिनाको मुख्य नाइके शर्मा भएको अनुसन्धानमा उनी मुख्य नाइके भएको खुलेपछि उनिविरुद्ध भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ । अन्य जिल्लामा पनि उनीविरुद्ध अनुसन्धान जारी रहेको छ । भक्तपुरको कौशलटारमा रहेको शिव शिखर कृषि सहकारी संस्था र शिखर दीप बहुउद्देश्यीय सहकारी संस्था वि.सं. २०७७ सालमा मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । सो संस्थाका बचतकर्ताहरुले मुद्दति निक्षेपको अवधि पुगेर पनि पैसा फिर्ता नपाएको भन्दै उजुरी बढेको थियो । यस सहकारीको देशभरि २६ वटा शाखा कार्यालय रहेको छ ।
सहकारीको पैसाबाट उनीहरूले निजी सम्पत्ति समेत जोडेको र उनकी श्रीमतीले साढे दुई करोड रुपैयाँ पर्ने टोयटाको फर्चुनर गाडी चढ्दै आएकी थिइन् । सो गाडी अहिले सिआइबीले बरामद गरिसकेको छ ।
शिव शिखर सहकारीका भक्तपुरबाहेक उपत्यकाभित्र काठमाडौंमा चार र ललितपुरमा दुई शाखा छन् । काठमाडौंको न्युरोड, कीर्तिपुर, बाँसबारी र बागबजार तथा ललितपुरको मंगलबजार र ठैबमा शाखा कार्यालय रहेकोमा सबै अहिले बन्द छन् । भक्तपुरको मुद्दा दर्तापछि काठमाडौं र ललितपुरमा अनुसन्धान गर्ने सिआइबीको तयारी छ । उपत्यकाबाहिर जिल्लाका शाखाको हकमा भने सम्बन्धित जिल्लाका प्रहरी कार्यालयबाटै अनुसन्धान गर्न सिआइबीले पत्राचार गरिसकेको छ । जसअनुसार सम्बन्धित जिल्लामै अनुसन्धान भइरहेको छ ।
चितवनको भरतपुर र टाँडी, बाँकेको नेपालगन्ज, कोहलपुर र बैजनाथ, कैलालीको धनगढी र अत्तरिया, डडेल्धुरा, दाङको तुलसीपुर र भालुवाङ, मकवानपुरको हेटौँडा, सुर्खेतको वीरेन्द्रनगर, बाग्लुङको श्रीनगर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, रुपन्देहीको बुटवल, डोटीको दिपायलमा शाखा तथा सेवाकेन्द्र सञ्चालित छन् । त्यसमा हाल दुई–तीनवटा मात्र शाखा सञ्चालनमा छन् । अरूले निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि बन्द गरेका छन् ।
केदारनाथले भारतको राजस्थानमा समेत लगानी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।