Kath khabar
तौल घटाउनको लागि गरिने  ‘केटोजेनिक डाइट’ के हो ?

 

                 काठमाडौं, असार १३ । अहिले तौल घटाउनको लागि ‘केटोजेनिक डाइट’ धेरैले गर्ने गरेको पाइन्छ । जसलाई किटो डाइट भनिन्छ । फ्याट, प्रोटिन र कार्बोहाइड्रेटको कम्बिनेसन नै केटोजेनिक डाइट हो ।

धेरै संख्यामा मानिसहरूले यो नियमलाई अपनाएर तौल घटाउने प्रयास गरेका छन् । कतिपयले किटो डाइटलाई स्वास्थ्यका लागि फाइदाजनक मान्छन् भने कतिपयले यसलाई हानिकारक पनि मानेका छन् ।  यदि तपाइँ पनि किटो आहार पालना गर्दै हुनुहुन्छ भने यो कस्तो डाइट हो बुझ्नु जरुरी हुन्छ ।

के हो किटो डाइट ?
स्वास्थ्यविद्का अनुसार केटोजेनिक डाइट यस्तो डाइट हो जसमा कार्बोहाइड्रेटको मात्रा घटाएर, चिल्लो र प्रोटिनको मात्रा बढाइएको हुन्छ । यस्तो डाइटमा ६५ देखि ७० प्रतिशत फ्याट, २०–२५ प्रतिशत प्रोटिन र ५ प्रतिशत कार्बोहाइड्रेटको मात्रा हुन्छ ।

यो आहार पालना गर्नाले हाम्रो शरीरले इनर्जीको लागि बोसो बर्न गर्न थाल्छ । यो अवस्थालाई केटोसिस भनिन्छ। यो आहार अपनाउने मानिसहरूले धेरै बोसो युक्त खानेकुराहरू उपभोग गर्छन् र न्यूनतम कार्बोहाइड्रेट युक्त खानाहरू खान्छन् । यस आहारमा मध्यम प्रोटिनयुक्त खानाहरू पनि समावेश हुन्छन् । आजकल ठूलो संख्यामा मानिसहरु तौल घटाउन किटो डाइटलाई फलो गरिरहेका छन् ।

किटो डाइटका फाइदाहरू के के हुन् ?
तौल घटाउनको लागि किटो डाइट सबैभन्दा बढी फलो गरिएको छ । यो आहारले शरीरको मेटाबोलिजम बढाउँछ र भोक कम गर्छ । यसकारण यो वजन घटाउनमा प्रभावकारी मानिन्छ । किटो डाइटले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोगी हुने विश्वास पनि गरिन्छ  तर यो धेरै हदसम्म मधुमेह रोगीको स्वास्थ्य अवस्थामा निर्भर गर्दछ । यो डाइट प्लानलाई स्वास्थ्यका लागि धेरै हिसाबले राम्रो मानिएको छ।

किटो डाइटले बच्चामा भएको मिर्गीको समस्यालाई कन्ट्रोल गर्न सहयोग पुर्याउँछ भने अनिद्राको समस्याबाट पनि टाढा राख्छ । यस्तो डाइटले मेन्टल डिसअर्डरजस्ता समस्याबाट पनि जोगाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

किटो डाइट पालना गर्नुअघि सबैले विज्ञको सल्लाह लिनुपर्छ । यस डाइट प्लानलाई गलत तरिकाले अपनाउँदा धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । निम्न रक्तचाप, मृगौलाको पत्थरी, कब्जियत, पोषणको कमी र हृदय रोगबाट पीडित व्यक्तिहरूले यो आहार अपनाएमा समस्याहरू सामना गर्न सक्छन् । कलेजो रोगबाट पीडित व्यक्तिहरूले चिकित्सकको सल्लाह बिना यसो गर्नु खतरनाक हुन सक्छ ।

 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update