
काठमाडौं, असार ३ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकमा चार जना, पाल्पामा एक जना, कास्कीमा एक जना, डोटीमा एक जना र सप्तरीमा एक जना रहेकाछन् ।
बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ८० जना, कास्कीमा एक जना, पाल्पामा एक जना र स्याङजामा एक जना गरी जम्मा ८३ जनाको उद्दार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।
बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा १३ जना र जाजरकोटमा सात जना गरी २० जना वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १५ जना पुरुष र पाँच जना महिला छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
साथै सिन्धुपाल्चोकमा पाँच जना, डोटीमा दुई जना, कास्कीमा एक जना, स्याङजामा एक जना र म्याग्दीमा तीन जना गरी जम्मा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण सल्यान, बझाङ र दैलेख लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।
बाढीको कारण एक सय ६५ वटा घर डुबानमा परेका छन् । ७४ वटा घर, पाँच वटा गोठ, छ वटा पुल र छ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४ सय ९२ वटा पशु चौपायको मृत्यु भएको छ । अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएका छन् ।
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको जनाएको छ ।