Kath Khabar
निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार १२ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौं, असार ३ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये नौ सय २६ वटा गाडी र दुुई हजार ८६ वटा मोटरसाइकल रहेकाछन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा एक सय १६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा चार लाख ५६ हजार पाँच सय ८७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने दुई सय नौ जनालाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा २२ हजार आठ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा एक हजार आठ सय ६४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा पम्प्लेट सहितको ५१ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत तीन हजार तीन सय ५२ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update