Kath Khabar
नारायणगढ–मुग्लिन सडक फेरि दुईतर्फी अवरुद्ध
तस्विर : सामाजिक सञ्जाल

 

                 मुग्लिन, असार १७ । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले जानकारी दिए। सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update